|  

शिक्षकहरूलाई प्रचण्डको अपिल-धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिनुस् !

०९ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि उनको आरोप छ । ‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताए । उनले वर्तमान सरकार आफ्नै बोझमा दबिएर सिध्धिने समेत बताए ।