०९ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा बस्ने नेपालीहरूको नागरिकता निरन्तरता हुनुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले यस्तो भनेका हुन् । विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको उनले बताए । ‘२०६३ सालपछिको राजनीतिक व्यवस्था फेरिएपछि आएको नागरिकता ऐनले विदेशमा बस्ने सबै नेपालीलाई अन्याय गरेको छ,’ उनले भने, ‘अवसरको खोजीमा विदेशमा गएको नेपाली अवसर पायो विदेश बस्यो, उतैको नागरिकता लियो भन्दैमा उसलाई नेपाली नै होइन भन्न कहाँ पाइन्छ? हामीले पनि यसलाई संशोधन र परिमार्जनका लागि माग गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्छौँ।’
विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उनले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे ।