|  

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी

०९ बैशाख, काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ ।

सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानूनी व्यवस्था बमोजिम एनसेल सूचीकृत भएको हो । 

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सूचीकृत गरिएको हो । निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो ।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको जनाएको छ । 

सो सूचीकरणसँगै एनसेलले अब नयाँ कानूनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ । हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको विज्ञप्तिमार्फत  जनाएको छ ।

त्यसैगरी एनसेलले पोखरा र हेटौडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।