|  

स्वास्थ्य बिमाको खर्च कटौतीका लागि परीक्षण नै घटाउने बोर्डको निर्णय

०९ बैशाख, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले खर्च कटौती गर्ने नाममा परीक्षण नै घटाउने निर्णय गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अनावश्यक परीक्षण गरेर बिमामा अनावश्यक दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै परीक्षण नै घटनाउने निर्णय गरेको हो । बोर्डले परीक्षण घटाउन र उपचार गर्दा प्रोटोकल अनुसारको व्यवस्था मिलाउन सहयोग माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार पनि गरेको छ । हाल सरकारले आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमसमेत स्वास्थ्य बिमा कार्यक्रममा माग दाबी परेको भन्दै बोर्डले दोहोरोपन हटाउन सकिए दायित्व कम पर्ने निष्कर्ष निकालेर मन्त्रालयलाई पत्र पठाएको बताएको छ । यसका लागि सरकारले बेग्लै रकम दिने भए पनि बिमामा समेत मागदाबी आउँदा दोहोरोपना देखिएको विज्ञहरूको निष्कर्ष छ ।

बोर्डको अनुरोध आएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्डको पूर्ण कार्यान्वयन र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गरिसकेका छन् । बोर्डले सरकारले नागरिकलाई दिने उपचार सहायताका सबै कार्यक्रम स्वास्थ्य बिमा कोषमार्फत गर्न सकिए त्यसले दोहोरोपना हटाउन सकिने र लागतसमेत कम गर्न सकिने बताएको छ । हाल यी सबै कार्यक्रमअन्तर्गतका रकम सरकारले बेग्लै भुक्तान गर्ने गरेको छ । बोर्डले नयाँ आम्दानीका स्रोतस्वरुप नेपालमा औषधि बिक्री वितरण गर्ने सबै कम्पनीको खर्चको निश्चित प्रतिशत स्वास्थ्य बिमा कोषमा खर्च गर्न सकिने प्रस्ताव गरेको छ। यसका लागि समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोगका लागि बोर्डले पत्राचार गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले जानकारी दिए।