१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १५ महिनापछि राजीनामा दिने बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई १५ महिना पर्खिन आग्रह गरेका हुन् ।‘नयाँ शक्तिहरूले भनेछन्, शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्थ्यो । मैले भन्ने गरेको छु त, १५ महिनापछि राजीनामा आउँछ । नेपाली कांग्रेससँग हाम्रो सहमति नै त्यही छ । राजीनामा हेर्न मन छ भने १५ महिना पर्खिनुस्,’उनले भने।
प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केन्द्रित अभिव्यक्ति पनि दिए । प्रचण्डले छिट्टै सरकार ढल्ने र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अभिव्यक्ति दिँदै आएका छन्। सोही अभिव्यक्तिको जवाफमा ओलीले १५ महिनापछि साथ दिन आग्रह गरेका हुन्।
‘हामी साथ दिन्छौं। हामी सहयोग गर्छौं। तपाईँ नै सरकार चलाउनुस्। १४–१५ महिना पर्खिनुस् न। उहाँ (देउवा)लाई नै हो प्रधानमन्त्री बनाउने। त्यतिबेला साथ दिनुस् न। सहयोग गर्नुस्। हल्ला चलाइरहेका छन्। बैंककबाट आएपछि शेरबहादुरजी प्रधानमन्त्री भनेर,’उनले भने।