१० बैशाख, काठमाडौं ।भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
जम्मू–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको हो । उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।
वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूह हो भन्दै सोधेपछि एकाएक गोली हानेको थियो। आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए।
गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।