|  

बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय

१० बैशाख, काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ ।

नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो । उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए । उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा नपाएका कारण उनी कश्मीर गएका परिवारले जनाएका छन् । 

हरियाणाको कर्नाल जिल्लाका नरवालले दुई वर्षअघि मात्र नौसेनामा काम गर्न थालेका थिए । नरवालको परिवारका अनुसार उनी यी दिनहरूमा कोच्चिमा पोस्टेड थिए। बी.टेक गरेपछि नरवाल भारतीय नौसेनामा भर्ना भएका थिए ।
उनी आफ्नो परिवारका एक्लो छोरा थिए । उनको एक कान्छी बहिनी छिन् जो युपीएससीको तयारी गरिरहेकी छिन् ।

नरवालको परिवार कर्नालको भुस्ली गाउँका हुन् र कर्नाल शहरको सेक्टर ७ मा बस्छन्। परिवारका अनुसार विनय नरवाल २१ अप्रिलमा आफ्नी श्रीमतीसँग हनिमून मनाउन कश्मीर गएका थिए।

यो आक्रमण पहलगामको बैसरन उपत्यकामा भएको थियो जसलाई कश्मीरको ‘मिनी स्विट्जरल्याण्ड’ पनि भनिन्छ। मंगलबार भएको यस आक्रमणमा दुई विदेशी नागरिकसहित २८  जनाको मृत्यु भएको छ। भारतबाहिरका २ जनामध्ये एक जना नेपाली हुन् ।