१० बैशाख, काठमाडौं । भारतको जम्मू कश्मीरमा बन्दुकधारीको आक्रमणबाट मृत्यु हुने नेपाली युवक बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।
जम्मू-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले आक्रमण गर्दा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको हो ।
स्रोतका अनुसार बन्दुकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूहको हो भनेर सोधेपछि गोली हानेका थिए ।आमासँग बुटवल– ११ कालिकानगरमा बस्दै आएका सुदीपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए ।
गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मीर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेका हुन् ।