|  

मनिष झाद्वारा कश्मीर हमलाप्रति दुःख ब्यक्त, गम्भीर र जिम्मेवार बन्न सरकारकाे ध्यानाकर्षण !

१० बैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएकोमा दुःख ब्यक्त गरेका छन् ।

मृतकप्रति श्रद्धान्जलि अर्पण गर्दै सांसद झाले सरकार, परराष्ट्रमन्त्रालय, भारत स्थित नेपाली राजदुतावास, नेपालस्थित भारतीय राजदुतावासलाई यस घटनामा गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको थियो । मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् ।

जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ । भारतीय सञ्चार माध्यमका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ । त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको बताइएको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।