१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई बर्खास्त गरेका छन् ।
सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए । तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए । तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका छन ।
उनले राज्यमन्त्री प्रधानमन्त्रीले बनाएको नभई पार्टीले बनाएको बताए । तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिने भन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने उल्लेख गरे । उनले पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले प्रधानमन्त्रीले हटाए पनि अदालत जाँदा पनि मुद्दा जित्ने दाबी गरे । प्रधानमन्त्रीले बर्खास्त गर्ने नहुने बताए । उनले परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जाँदा विमानस्थलमा प्रधानमन्त्री तपाईँसँग रिसाएको एक पटक भेट गर्न आग्रह गरेको बताए । तर आफूले प्रधानमन्त्रीसँग भेट नगरेको उल्लेख गरे । तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्।