१० वैशाख, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय माननीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता गरेका छन् ।
मन्त्री खट्टर मंगलबार संखुवासभास्थित अरुण तेस्रोको पावर हाउस र बाँध निर्माणस्थल पुगेर आएका थिए । उनले बुधबार मुस्ताङको मुक्तिनाथमा दर्शन गरेर फर्किएपछि ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई पुनर्पुष्टि गर्दै दुई नेताहरूले ऊर्जा क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल गरेको बताइएको छ ।
दुई दिने भ्रमणका क्रममा मंगलबार नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षारोपण पनि गरे ।
त्यसक्रममा ऊर्जामन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।