१० वैशाख, काठमाडौं । भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टर र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमानसिंह बीच भेटवार्ता भएको छ।
मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।
‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र शहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यी नै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने ।
उनले नपाल र भारत सरकारबिच शहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि शहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए ।