१० वैशाख, काठमाडौं । सुख्खा पहिरो खसेर अबरुद्ध भएको पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड सुचारु भएको छ ।
बिनयी त्रिवेणी गाउँपालिका दुईको विश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा सडकको बायाँ तर्फबाट सुख्खा पहिरो खसिरहेको कारण मंगलबार विहान ११: १५ बजेबाट अवरूद्ध भएको सडक आज बिहानदेखि दुइतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएका छन् ।
पहिरो खसेर आवतजावतमा समस्या भएपछि सवारीलाई रोकेर पहिरो खसेको ठाउँमा मर्मत गरी मंगलबार नै एकतर्फी सवारी संचालन गरिएको थियो । बुधबार बिहान भने दुइतर्फी सवारीहरु संचालन भएको प्रहरीले जनाएको छ ।
एकातर्फ कल्भर्ड निर्माण गरेको र अर्कोतर्फ एकतर्फी सडक सञ्चालन रहेका स्थामा पहिरो खसेपछि सवारी आवतजावत बन्द भएको थियो ।