|  

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विद्युत् मन्त्री खट्टर 

१० वैशाख, काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहर लाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । 

मन्त्री खट्टरको भ्रमणले नेपाल-भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ ।

प्रसारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत् खेर जान सक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय दुई प्रसारणलाइन निर्माणका लागि सम्झौता हुनु ऐतिहासिक कदम मानिएको छ ।

सम्झौतासँगै अब बन्ने इनरुवा–न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहनेछ । यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउने आशा गरिएको छ ।

दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत् इनरुवा–न्यु पूर्णिया अन्तरदेशीय प्रसारण लाइनबाट भारतसहित तेस्रो मुलुक बङ्गलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ ।

नेपालको दोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का इनरुवा-न्यु पूर्णिया र दोदोधारा-बरेली प्रसारण लाइन केबल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा रहेको बताउँछन् ।

“हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ, भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्यप्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्त्वपूर्ण टेवा पुर्‍याउने छ”, उनले भने ।

भारतीय विद्युत् मन्त्री खट्टर नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतका लागिसमेत महत्त्वपूर्ण भएको बताउँछन् । अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको उनको भनाइ थियो ।

भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग संयुक्त रूपमा सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका थिए । दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग आयोजनाको कामका बारेमा जानकारी लिएका थिए ।

यसैगरी, भारतीय मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका थिए। मुक्तिनाथ यात्राका क्रममा खट्टरसँग ऊर्जा मन्त्री खड्का र नेपालका थिए।

नेपाल भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।