११ बैशाख, काठमाडौं ।भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ ।
मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको हो । ‘आज बिहान सात बज्नै लाग्दा सुदिपको डेथ बडी बेलहिया नाका आइपुगेको हो ।
अब यहाँबाट प्रहरीले बुटवल घरसम्म पुर्याइदिनेछ । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।
त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् ।