११ बैशाख, काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा सहकार्य गर्दै साइबरनेटिक्स प्रालि र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच अन्तर्राष्ट्रियस्तरको ‘हेल्थी हेल्थ प्याकेज’ सुरु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना आमाबुबा वा आफन्तका लागि अनलाइनमार्फत स्वास्थ्य सेवा खरिद गर्न सक्नेछन । यसअन्तर्गत पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी, निवारक तथा ओपीडी सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजीलगायतका सेवा उपलब्ध हुनेछन । ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सो अवसरमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी खन्नाले विदेशमा रहेका नेपालीहरूलाई आफ्ना आफन्तलाई विश्वस्तरीय सेवा उपलब्ध गराउन सहज हुने बताए । साइबरनेटिक्सका निर्देशक न्याछ्योंले डिजिटल प्रविधिको माध्यमबाट देश(विदेश जोड्ने अभियानमा आफूहरू लागिपरेको बताए ।