११ वैशाख, काठमाडौं । संघीय संसद्को बर्खे अधिवेशन भोलिबाट शुरु हुँदैछ ।
बजेट अधिवेशनको रूपमा लिइने बर्खे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ । संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ३२ वटा विधेयक छन् । २७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन छन् भने ५ वटा विधेयक राष्ट्रिय सभामा छन् ।
भोलि संसद्मा दलीय आधारमा सम्बोधन गर्ने र एउटा विधेयक अगाडि बढाउने प्रस्तावित कार्यतालिका छ । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक वैशाख १४, १५ र १६ गते बस्नेछ । ती बैठकमा विधेयक नै अगाडि बढाउने भनिएको छ । १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन गर्ने सम्भावित कार्यतालिका छ । प्रीबजेट छलफल २८ वैशाखदेखि गर्ने तयारी छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटसँगै अन्य महत्वपूर्ण विधेयकसमेत अगाडि बढाउने तयारी रहेको सभामुख देवराज घिमिरेले नै बताएका छन् ।