११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरू सबैलाई मूल कुरा छोडेर महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका छन् ।
लोकतन्त्र दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उनले समय अगावै नेताहरूलाई महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका हुन । महामन्त्री थापाले भने, ‘पार्टीमा गुट होइन, गिरोह बनेको छ । तल्लो तहसम्म बनेको छ । गुट भए आफू हुने, नभए नहुने भइसक्यो । मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ । मुखले नभनेका मात्रै हुन ।’
महामन्त्री थापाले आगामी निर्वाचन हारे पनि, जिते पनि सबै मिलेर कांग्रेसलाई लोकतन्त्र बचाउन भरोसा दिलाउने पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौंमा आन्दोलित सामुदायिक विद्यालयका शिक्षकहरूले अघि सारेका मागमा कांग्रेसको धारणा स्पष्ट भएको पनि बताए । उनले संसद्बाट हुने काम गर्न नसकिएको प्रति शिक्षकहरूसँग माफी पनि मागे ।