११ बैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्ने जानकारहरूले बताएका छन ।
आज विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौंमा आयोजित गरेको आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै जानकारीहरुले यस्तो बताएका हुन । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले अहिलेको स्थितिमा सरकारले निजी क्षेत्रको विश्वास जित्न नसकेको बताए । उनले बैङ्कमा पैसा थुप्रिएर बस्दा समेत कसैले पनि लगानी गर्न रुचि नदेखाएको बताए । उनले निजी क्षेत्र गम्भीर रूपमा लगानी गर्न नचाहेको भन्दै त्यसको भित्री कारण खोज्न समेत सरकारलाई सुझाव दिए ।पूर्वउपाध्यक्ष पोखरेलले निजी क्षेत्रलाई विश्वास दिलाउने विषयमा सरकार गम्भीर हुनुपर्ने समेत जिकिर गरे ।
योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता डा. गोविन्द पोखरेलले आगामी बजेटले क्षमता विकासमा जोड दिनुपर्ने बताए । उनले अहिले नेपालले ४ रुपैयाँ ७७ पैसा खर्च गरेर एक रुपैयाँ सम्पती कमाएको भन्दै नेपालले महँगो विकास धान्न नसक्ने जिकिर गरे । उनले क्षमता विकास गर्ने क्षेत्रमा लगानी बढाएको खण्डमा त्यसले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।
नेकपा (एमाले) का लेखा समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। पुष्पराज कँडेलले सरकारी र निजी क्षेत्र दुवै कमजोर भएको बताए । उनले जुन किसिमको स्रोत, साधन र क्षमता हुनुपर्ने हो, त्यो सरकारी र निजी दुवै क्षेत्रमा नभएको जिकिर गरे । उनले स्रोत र साधनको अभावले हजारौँ परियोजनाहरू ठेक्का लागेर पनि कार्यान्वयन नगएको बताए । पूर्व उपाध्यक्ष कँडेलले मुलुकको आम्दानीको स्तर अत्यन्त न्यून र सीमितताभित्र रहेको बताउँदै त्यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।