|  

नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

१२ बैशाख, काठमाडौं । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् ।

अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो । यसरी परियोजना पाउने देशहरूमा नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्ट रहेका छन् ।

नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मंगोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । यद्यपि कार्यक्रमको निरन्तरता देशको आधारमा गरिएको हो कि परियोजनाको आधारमा भन्ने केही उल्लेख गरिएको छैन ।

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारको काम अघि बढाइरहेको छ । अमेरिकाको ५५० मिलियन डलर र नेपालको समेत लगानीमा ५०० केभीए क्षमताको डबल सर्किट प्रसारण लाइन र सबस्टेशन निर्माण तथा सडक स्तरोन्नति र मर्मतको कार्य अघि बढेको छ । ग्रीडलाई मात्रै निरन्तरता दिने निर्णय भएको अवस्थामा सडक परियोजना भने प्रभावित हुनेछन् ।