१२ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रश्ताव गरेका छन् ।
आज अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताए । यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गरे । उनले नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताए । यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको उनको भनाई छ ।
मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताए । भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको उनले बताए ।