१२ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘१० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन’, उनले भने, ‘धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा गरिरहेको चलखेल घामजत्तिकै छर्लङ्ग छ ।’
अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर-घरमा बहस हुन थालेको पनि उनले बताए । कांग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडसम्म पुगेको भनेकामा उनले धन्यवाद दिए ।
गत असार ३१ गते सरकार गठन गर्दा भनिएको संविधान संशोधनमा सिन्कोसमेत नभाँचिएको उनको टिप्पणी थियो ।