|  

राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाउन आवश्यक : अर्थमन्त्री पौडेल

१२ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेस गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानुनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन । उनले पूर्वाधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकनसम्बन्धी विषयलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्तका स्रोतको परिचालन गर्न र यसको माध्यमबाट रोजगारी सिर्जना गर्न पनि विधेयक जरुरी रहेको बताए ।

अर्थमन्त्री पौडेलले पेस गरेको सैद्धान्तिक अवधारणा अनुसार विश्वव्यापीरूपमा भइरहेको पूर्वाधार विकासमा तीव्र प्रतिस्पर्धा, जलवायु परिवर्तन, सूचना प्रविधिको बढ्दो पहुँच एवं नागरिकको अपेक्षा अनुसारको पूर्वाधारमा लगानीको आवश्यकता वृद्धि भइरहेको छ । नेपालमा लगानीको आवश्यकता र सम्भावना सम्बन्धमा भएका अध्ययनले आगामी दशकमा १ सय खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएका छन ।