१२ बैशाख, काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ ।
गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन । आजसार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन । भिडियोमा आशिफले गीत मार्फत गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहको छ । आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।