१३ बैशाख, काठमाडौं । अमेरिकामा अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीश पक्राउ परेकी छन् ।
अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ)ले शुक्रबार विस्कन्सिनस्थित मिल्वाउकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हन्नाह दुगानलाई पक्राउ गरेको हो ।उनीमाथि मेक्सिकोका अवैध आप्रवासीलाई भगाउन खोजेको आरोप छ।
गत अप्रिल १८ मा मेक्सिकोका अवैध आप्रवासी भनिएका एडवार्डो फ्लोरेस रूइजलाई पक्राउ गर्न एफबिआइका अधिकारीहरू अदालत पुगेका थिए।तर न्यायाधीश दुगानले पक्राउका लागि एफबिआइका अधिकारीहरूसँग भएको कागजात पर्याप्त नहुने र छुट्टै वारेन्ट चाहिने भनेर फर्काइदिएकी थिइन्।
त्यतिबेला फ्लोरेसमाथि घरेलु हिंसा मुद्दामा सुनुवाइ भइरहेको थियो। तर दुगानले एफबिआइ अधिकारीहरूलाई सुनुवाइ भइरहेको भनेर बाहिर जान निर्देशन दिएकी थिइन् ।
न्यायाधीश दुगानमाथि एफबिआइका अधिकारीहरुलाई एउटा ढोकाबाट बाहिर पठाएर अभियुक्त भनिएका फ्लोरेसलाई अर्को ढोकाबाट भगाएको आरोप छ।