१३ बैशाख, काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीहरुलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचान बन्ने भएकाले आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको हो । अहिले राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न वा चलाउन, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन, नागरिक एपमा दर्ता हुन तथा सरकारी सेवाका लागि आवश्यक एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड अनिवार्य गरिएको छ ।
त्यस्तै अनलाइन फारम भर्न, पासपोर्ट बनाउन वा नागरिकताको सम्पर्क नम्बरका लागि समेत आफ्नै नामको सिमकार्ड चाहिन्छ । सिमकार्ड कुन नाममा दर्ता भएको छ भनेर थाहा पाउन नेपाल टेलिकम प्रयोगकर्ताले ८९२२३ डायल गर्नुपर्छ ।