१३ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले एकताका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता सुरू भएको बताएका छन्।
उनले एकीकृत समाजवादीसँग वार्ता थालेको बताएका हुन्। गौतमले आफू नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा लागेको तर सम्भव नभएको पनि बताए।
‘अहिले पनि पार्टी एकताको निम्ति विभिन्न पार्टीसँग छलफल भइरहेको छ। पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी) सँग एकताको निम्ति छलफल भइरहेको छ। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ,’ उनले भने।
केही समयअघि आफूले नेकपा एमालेसँग एकताको प्रयास गरेको तर सम्भव नभएको पनि जानकारी दिए।