१३ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार सुशासनकाबिरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार भएको टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन बिरोधी सरकार भएको आरोप लगाए । उनले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार विचौलियाको हो भनेर स्वीकार गरिसकेको बताए । उनले अहिलेको सरकारले दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए ।
सडकमा लाखौँको संख्यामा शिक्षकहरुले आन्दोलन गरिरहँदा उनीहरुका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको आरोप लगाए । अध्यक्ष दाहालले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।