|  

बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी

१३ बैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पतीसम्बन्धी कानूनलाई सरकारले नयाँ ढंगबाट अगाडि बढाउने तयारी भएको बताएका छन् ।

आज काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वव्यापी बौद्धिक सम्पतीको सन्दर्भमा नेपालमा नयाँ कानून आवश्यक भएको बताए । उनले नेपाली मौलिकतासँग जोडिएका विषयहरुलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्नेगरी कानून निर्माण प्रक्रियामा सरकार लागेको बताए । उनले समितिमा छलफलमा रहेको बौद्धिक सम्पतीसम्बन्धी कानून छिट्टै मन्त्रिपरिषद्मा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारीमा लागेको बताए ।

पेटेन्ट राइटबारे अहिले भइरहेको कानूनले सम्बन्धित विषयमा आएका उजुरीका विषयमा मात्रै अल्झाइरहेको उनको भनाइ छ । उनले नेपालभन्दा पछाडि परेका कतिपय देशहरु पेटेन्ट राइट सुरक्षित गरेकै कारण विश्व बजारबाट फाइदा लिएर अघि बढ्न सकेको बताए । बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानूनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको उनको भनाइ छ ।

मन्त्री भण्डारीले पूर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पतीको नाममा संस्था खोलेर त्यसको परिचय दिएपनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताए । उनले विदेशीको डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताए । उनले पेटेन्ट राइटका लागि पूर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको बताए । कतिपय पेटेन्ट राइटका विषयहरु दर्ता गरेर त्यसको नविकरण नगर्दा समस्या देखिएको उनको भनाइ छ ।

मन्त्री भण्डारीले कुनैपनि विषय वस्तुलाई बौद्धिक सम्पतीको रुपमा विकास गर्न र पेटेन्ट राइटको सुरक्षा गर्न निजी क्षेत्रले आफ्नो उत्पादन तथा आविष्कारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।