१३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर नै बुद्धको शान्तिका विचारको महत्त्व बढ्दै गएको बताएका छन ।
आज लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले संसारभर युद्ध लड्न सक्ने हतियार निर्माण भएको र यसले विश्वशान्तिमा नै चुनौती देखिएको उल्लेख गरे । यस्तो अवस्थामा बुद्धको शान्तिका विचारको महत्त्व बढ्दै गएको उनले बताए । विश्वभरका सचेत नागरिकको शान्तिको चाहनाको आधार बुद्धको विचार नै भएको उनले धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एकै प्रस्तरबाट निर्मित लिटिल बुद्धको मूर्ति अनावरण समेत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका निम्ति चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो । तीनदिने महोत्सवमा थाइल्यान्ड, कम्बोडिया, चीनलगायत ५० मुलुकका भिक्षुका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति छ ।