१३ बैशाख, काठमाडौं । गर्मी मौसमसँगै नेपालका धेरै स्थानमा तातो हावाको लहर बढेको छ ।
तातो हावाको लहर भनेको सामान्य तापक्रमभन्दा अत्यधिक उच्च तापक्रमको अवधि हो । तातो हावाको लहरका कारण स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्याहरू देखिन सक्छ । जस्तै थकान र स्ट्रोक उत्पन्न हुन सक्छ, जुन समयमै उपचार नगरेमा मृत्युको कारण पनि बन्न सक्छ। यसबाट बच्नका लागि के गर्ने र के नगर्ने भनेर तल प्रस्तुत गरिएको छः
तातो हावाको लहरको समयमा के के गर्नेः
घाम बाट जोगिनुहोसः दिउँसो १२ बजेदेखि ३ बजे सम्मको समयमा बाहिर जानबाट बच्नुहोस । यती बेला सूर्यको तातो अधिकतम हुन्छ ।
पानी पिउनुहोसः तपाईंलाई तिर्खा नलागेको भए पनि दिनभरीमा धेरै पानी पिउनुहोस । गर्मीसँग सम्बन्धित रोगहरूबाट बच्नको लागि पानीको मात्रा अत्यन्त महत्त्वपूर्ण छ ।
सही कपडा लगाउनुहोसः हल्का रंगका, खुकुलो र हावा छिर्ने सजिला सुतीका कपडा लगाउनुहोस् जसले तपाईंलाई चिसो राख्न मद्दत गर्दछ । बाहिर जानु परेमा टोपी, चश्मा र आरामदायक जुत्ता लगाउनुहोस ।
विश्राम लिनुहोसः यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने नियमित विश्राम लिनुहोस र १२ बजे देखि ३ बजे सम्म सूर्य बाट बच्नुहोस ।
पानी बोकेर यात्रा गर्नुहोसः सधैँ आफ्नो साथमा पानी बोकेर यात्रा गर्नुहोस्, विशेष गरी लामो समय बाहिर रहनु पर्ने भएमा ।
हाइड्रेटिंग पेय पदार्थहरू पिउनुहोसः जीवनजल, घरमै बनाएको लस्सी, चामलको पानी वा कागतीको पानी जस्ता पेय पदार्थहरू पिउनुहोस जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत पुर्याउँछ ।
घर चिसो राख्नुहोसः पर्दा बन्द गर्नुहोस, सूर्यको छायाँलाई प्रयोग गर्नुहोस र राति झ्यालहरू खोल्नुहोस जसले चिसो हावा ल्याउँछ।
चिसो राख्ने उपायहरू अपनाउनुहोसः पंखा चलाउनुहोस, चिसो भिजेको कपडा शरीरमा राख्नुहोस र चिसो पानीले नुहाउनुहोस, जसले तपाईको शरीरको तापक्रम घटाउँछ ।
तातो हावाको लहरको समयमा के के नगर्नेः
डिहाइड्रेट गर्ने पेय पदार्थहरूको सेवन नगर्नुहोसः मद्यपान, चिया, कफी र कार्बोनेटेड ड्रिंकहरूको सेवन नगर्नुहोस्, जसले तपाईंलाई डिहाइड्रेट गर्छ ।
भारी खाना नखानुहोसः भारी र बासी खाना नखानुहोस्, जसले तपाईंको शरीरको तापक्रम बढाउँछ ।
बालबालिकालाई गाडीमा नछोड्नुहोसः बालबालिकालाई पार्क गरिएको गाडीमा नछोड्नुहोस्, गाडी भित्रको तापमान चाँडै बढ्न सक्छ र गम्भीर हानि पुर्याउन सक्छ।
अत्यधिक काम नगर्नुहोसः बाहिरको तापक्रम उच्च हुँदा कडा शारीरिक गतिविधि नगर्नुहोस्। विशेष गरी यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने विश्राम लिनुहोस्।
गर्मी लागेर हुने बिरामीको (गर्मी स्ट्रोक) उपचारका लागि सुझावहरूः
चिसो स्थानमा सार्नुहोस्ः प्रभावित व्यक्तिलाई तुरुन्त चिसो, छायामा लैजानुहोस्। भिजेको कपडा प्रयोग गरेर बारम्बार शरीरमा लगाउनुहोस् जसले तातो शरीरको तापक्रम घटाउँछ ।
पानीको मात्रा बढाउनुहोसः जीवनजल, कागतीको पानी, चामलको पानी वा अन्य पेय पदार्थ दिनुहोस् जसले शरीरलाई हाइड्रेट गर्न मद्दत पुर्याउँछ ।
चिकित्सा सहायता लिनुहोसः यदि लक्षण बिग्रिएमा वा व्यक्ति बेहोस भइ राखेमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लैजानुहोस । गर्मी स्ट्रोकलाई जीवनघाती मानिन्छ र तुरुन्त चिकित्सकीय सहायता आवश्यक छ ।