१३ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच रोममा भेटवार्ता भएको छ ।
जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माकले ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको तस्वीर सार्बजनिक गरेका हुन् ।
ट्रम्प र जेलेन्स्की पोप फ्रान्सिसको अन्तिम संस्कारम अ सहभागी हुन भटिकन सिटी पुगेको समयमा दुवैको भेटवार्ता सेन्ट पिटर बासिलिका चर्च भित्र भएको हो ।
वार्तामा के विषयमा छलफल भयो भन्ने स्पष्ट जानकारी आएको छैन । यद्यपी ट्रम्पले आजै रुस र युक्रेन 'सम्झौताको धेरै नजिक' पुगेको बताएका थिए ।
ट्रम्पले यो दाबी यस्तो समयमा गरेका छन् जब केही घण्टा अघि मात्र अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको थियो ।
पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टीव विटकफबीचको कुराकानीलाई रचनात्मक र उपयोगी बताए । पुटिन र स्टीव विटकफबीचको छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्ने प्रयास 'सफलतापूर्वक' भइरहेको बताएका छन् ।