निशा कार्की ।
१४ बैशाख, काठमाडाैं । भनिन्छ, भगवानको अर्को नाम आमा हो । ‘मातृदेवो भव’ अर्थात आमा देवता हुन । आमा जगतकै परम पवित्र शब्द हो । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो, आमा ।
आमा आफैँमा निर्मल, निस्वार्थ, माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन । आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन । आमा भवसागर हुन, जसको गहिराइ नाप्न कठिन छ । अन्यायको सामना गर्न सिकाउने, दुखेको घाउमा लगाउने मलम, प्रेरणाकी स्रोत र असल संस्कार सिकाउने गुरु पनि आमा नै हुन । त्यसैले भनिन्छ, यो प्राकृतिमा सबै कुरा खोजेर पाइन्छ तर नपाईने भनेकै आमा नै हुन । आमाले दिने माया संसारमा अरूबाट पाउने मायासँग तुलना गर्न सकिन्न । यो अतुलनीय माया गर्ने आमाको आज मुख हेर्ने दिन परेको छ । हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ, यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशीर्वाद लिने चलन छ । आमाबाट टाढा रहेकाहरुले टेलिफोन गरेर आशीर्वाद लिन्छन् । हिजो आज सामाजिक सञ्जालमा आमाको तस्वीर राखी श्रद्धा प्रकट गर्ने चलन पनि बढेको छ । आमा नहुनेहरू भने आज काठमाडौंको मातातीर्थ जाने गर्छन । मातातिर्थ काठमाडौं जिल्लाको चन्द्रगिरी नगरपालिकामा अवस्थित छ । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने चलन छ । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन भन्ने विश्वास पनि छ ।
श्रीस्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख/सन्तोष पाउने जनविश्वास छ । यसरी विधिवत रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न जाने गर्दछन् । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
माता तीर्थबारे विभिन्न किम्वदन्तिहरू पनि छन् । त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुग्नुभयो । अपरिचित उहाँलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे । त्यसपछि श्रीराम र उनीहरूबीच ठूलो युद्ध नै भयो । दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए । माता सीताजी पनि प्यासले आकुल हुनुभयो । वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान श्रीरामले गंगाजीको स्तुति गर्न थाल्नुभयो । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गर्नुभयो, पानीको कुण्ड बन्यो । पानी उघाउन जाँदा माता सीताजीले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाउनुभयो । कुण्डको जलमा वहाँको छाया पर्नासाथ भित्रको ढुंगामा वहाँको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात गंगा मातालाई आह्वान गरी भगवान श्रीरामले उत्पत्ति गर्नुभएको पवित्र कुण्डलाई मातातीर्थ भनिएको हो ।
त्यस्तै अर्को किमदन्ति पनि छ, प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर जान थाल्यो । कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले । त्यसपछि आमाले छोरालाई मृत आमाहरू प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै छोरालाई घर फर्काइन । यसर्थ यस कुण्डमा आज दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो । त्यति बेलादेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको किंवदन्ती छ ।
सन्तानकी श्रृष्टिकर्ता, ममताकी खानी, लाखौँ दुःखकष्ट सहेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई नमन । आज एकदिन मात्र होइन हरेक दिन आमाबाबुको मुख हेर्ने दिन मनाउन सकियोस । कुनै पनि बुवाआमाले बूढेसकालमा एक्लो महसुस गर्नुनपरोस् । आमाको मुख हेर्ने दिनले सबै आमामा खुसी ल्याओस ।