|  

शिक्षक आन्दोलनः वार्तालाई निरन्तरता दिइने सहमति

१४ बैशाख, काठमाडाैं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिवार मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता बिनानिष्कर्ष टुङगिएको हो । मन्त्रालयले वार्ता पुनः जारी रहने बताए पनि वार्ताको अर्को मितिबारे भने निर्णय भइसकेको छैन । मन्त्रालयका सहसचिव युवराज पौडेलले वार्ताको ढोका खुलेको जानकारी दिँदै वार्ता निरन्तर जारी रहने बताए । उनले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे । 
वार्तामा आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने, महासंघको मागलाई मन्त्रीस्तरीय निर्णयबाट पूरा गर्नुपर्ने माग गरेका छन् । मन्त्रालयका सहसचिव पौडेलले भने सबै मागको बारेमा सूक्ष्म अध्ययन भइरहेको र तत्काल वार्ता गरेर माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
शिक्षकहरूले २६ दिनदेखि आन्दोलन गरिरहेका छन् । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।