|  

राप्रपाप्रति कटाक्ष गर्दै सांसद रिजालले भने-पशुपति शमशेरलाई श्री ३ बनाएर न्याय गर्न प¥यो !

१४ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र श्री ५ बन्ने भए मोहन शमशेरका नाती पशुपति शमशेर जबरा श्री ३ बन्नुपर्ने टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद रिजालले राप्रपाले पशुपति शमशेरलाई न्याय गर्नुपर्ने बताएका हुन । सांसद रिजालले भने, ‘त्रिभुवन, नेहरू (भारतीय प्रधानमन्त्री) र मोहन शमशेरबीचको सम्झौताबाट नेपालबाट श्री ३ बिदा भयो । २०६५ साल जेठ १५ गते जनताबाट निर्वाचित संविधानसभामार्फत् नेपालबाट राजतन्त्र समाप्त भयो । श्री ५ समाप्त भयो । अहिले आएर जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किँदैन ? त्यसो भए ज्ञानेन्द्रको नाति हृदयेन्द्र, उहाँलाई श्री ५ फर्काउने भएदेखि मोहन शमशेरको नाति पशुपति शमशेर राणालाई पनि श्री ३ फर्काउनु पर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्‍यो ।’

राजसंस्था फर्काउन आन्दोलन गरेको राप्रपाप्रति कटाक्ष गर्दै पशुपति शमशेरलाई श्री ३ बनाएर न्याय गर्न भनेका हुन् ।