|  

गगनलाई ओलीको चुनौतीः बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउने प्रमाणित गर 

१४ बैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ । २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए ।

थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरेका थिए ।

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ ।