|  

वार्ता सकारात्मक बन्दै गर्दा शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने षड्यन्त्र भयो : शंकर पोखर 

१४ बैशाख, काठमाडाैं । नेकपा एमालेका महासचिव पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शनका क्रमामा भएको उच्छृङ्खल गतिविधिप्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने तत्त्वहरूको चलखेलले दुःखद अवस्था सिर्जना भए बताए ।

उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहँदा वार्तासमेत सकारात्मक दिशामा अघि बढेका बेलाको मुठभेट नियोजित भएको पोखरेलको ठहर छ ।

‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्रविरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनु पर्दछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उनले प्रष्ट पारेका छन् ।

‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुवै पक्ष गम्भीर ढङ्गले वार्तामा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ’, पोखरेलले भनेका छन् ।