|  

शिक्षकमाथिको बल प्रयोग कुशासन : शेखर कोइराला

१४ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण दिएको बताए।

आइतबार सामाजिक सञ्जालमार्फत् कोइरालाले लेखेका छन्, ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ। कक्षा १२ को परीक्षा समेत सरेको छ। यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो।’

उनले एक दुई दिनमै समस्या समाधान गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

‘अब धेरै ढिला भयो । एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन्।

शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा छन्।