|  

शिक्षक महासंघले भन्योः सरकारी भिजिलान्तेहरु पसेर ढुंगामुढा गरी स्थिति भड्काए, आन्दोलन जारी छ

१५ बैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार २७ औं दिन पनि आन्दोलन जारी राख्ने भएका छन् ।

महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ। सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलनमा सहभागी भएको शिक्षकहरूले जनाएका छन्।

‘शिक्षक महासंघले आइतबार सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काएको आरोप लगाएको छ। ‘यही २०८२ बैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ।’  महासंघको विज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौं।

बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक -कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ । हामी सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं।’ महासंघले शिक्षक-कर्मचारीमाथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको दमनकारी तथा शिक्षा विरोधी चरित्र फर्दाफास भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षाको सुधार र शिक्षक(कर्मचारीका पेसागत उन्नयनका पक्षमा २०८१ माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक–कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र फर्दाफास भएको छ।’