१५ बैशाख, काठमाडौं । रौतहटमा १४ वर्षीय बालकको गोली हानेर हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र वडा नम्बर ८का अनिल साह छन् । उनीहरुलाई वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नागेन्द्र सहनी यस घटनाका मुख्य अभियुक्त हुन् । साधु भन्ने यसमा सहायक भूमिका खेल्ने व्यक्ति हुन् ।
विकासले मृतकको मोटरसाइकल पाँच हजारमा किनेका थिए। अनिल साह भने ग्यारेज पसल भएका व्यक्ति हुन्।
कृष्णप्रसाद वैशाख ६ गते अपराह्न ४ बजेतिर बिआर०५डब्ल्यु ०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए । तर उनी त्यसदिन घर फर्किएनन् । केही दिनसम्म पनि घर नफर्किएपछि परिवार इलाका प्रहरी कार्यालय गरूडा पुगेर निवेदन दिएका थिए ।
खोजीकै क्रममा गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा वैशाख ११ गते शव फेला परेको थियो । छाती र पेटमा गोली लागेको, सडिगलेको र बिभत्स शव फेला परेको थियो । शव कृष्णप्रसादको रहेको खुलेको थियो। शव फेला परेको खबरपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानकै क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
वैशाख ६ गते टिकटक बनाउने भनेर नागेन्द्र र साधुले कृष्णप्रसादलाई फोन गरेर बोलाएका थिए। उनले चाँदी खोलामा जाने भनेर बोलाएका थिए । मोटरसाइकल चलाएर आउँदै गरेका कृष्णप्रसादलाई रोकेर उनीहरूले नियन्त्रणमा लिएको बताइएको छ । ‘कृष्णप्रसादलाई रोकेर नियन्त्रणमा लिए । मोबाइल पनि खोसे। त्यसपछि मोटरसाइकलमा तीन जना बसेर चाँदी खोलामा गएका थिए,’ प्रहरीले भन्यो ।
घटनास्थल पुगेपछि साधुले कृष्णप्रसादलाई धकेलेर लडाएका थिए। नागेन्द्रले भने उनको छातीमा दुई राउण्ड गोली हानेर हत्या गरेका थिए। घटनापछि दुबै जना कृष्णप्रसादको मोटरसाइकल लिएर भागेका थिए।