शनिवार ५ जेष्ठ, २०८२  | Saturday 17 May, 2025 

शिक्षकमाथि सरकारले दमन गरेकाे भन्दै सांसदहरूले गरे सरकारकाे विरोध !

१५ बैशाख, काठमाडौं । आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले हिजो शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका हुन् । सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे । उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।
सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे ।

यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्ने बताए ।

बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराए । अर्का सांसद डा। तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइन् ।