|  

संसदीय उपसमितिले बुझायो पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन

१५ बैशाख, काठमाडौं । पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमितिले प्रतिनिधि सभाको लेखा समितिलाई बुझाएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा एक कार्यक्रमका बीच संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अध्ययन प्रतिवेदन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो ।

लिङदेन नेतृत्वको उपसमितिमा सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य हुनुहुन्थ्यो । प्रतिवेदन बुझ्दै समिति सभापति ऋषिकेश पोखरेलले उपसमितिको अध्ययन प्रतिवेदनलाई छिट्टै मुल समितिमा लैजाने बताए । उनले मुल समितिमा छलफल गरी प्रतिवेदनको रायअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

प्रतिवेदन बुझाउँदै संसदीय उपसमितिका संयोजक लिङदेनले प्रतिवेदनमा क्षेत्रीय विमानस्थल निर्माणमा भएको अनियमितता र समस्याहरुको औंल्याउँदै ६ वटा निष्कर्षसहित प्रतिवेदन बनाइएको बताए । उनकाअनुसार ३८ पृष्ठ लामो प्रतिवेदनमा मुलतः विमानस्थल निर्माण भएको अनियमितता र विमानस्थल नियमित सञ्चालनमा देखिएका समस्याहरु उल्लेख गरिएको छ । २४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।