|  

अध्यक्ष लिङदेनको आग्रह- ‘आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं’

१५ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो जोड दिएका हुन् । राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए । उनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाए । उनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राख्दै सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताए । अध्यक्ष लिङ्देनले आग्रह÷पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गरे ।

अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाए । उनले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताए । उनले सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा जोड दिए । उनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गरे ।