१५ बैशाख, काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताएका छन् ।
आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताउँदै राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे । उनले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आ-आफ्नो ठाउँबाट लाग्न आह्वान गरे । देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उनको भनाइ छ ।
संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे । उनले सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताए ।