|  

बिग्रिँदै गएको पार्टीलाई सच्याउन दिनरात खटिरहेको प्रचण्डकाे दाबी

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको दाबी गरेका छन् ।

बर्दियाको राजापुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बीचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरेका हुन् । उनले भने,‘केही गल्ती गरें भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बीचमा गइरहेको छु । अब अरु नेताहरू पनि सच्चिनुस । आफ्नो वर्गलाई समाउनुस ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शहीद-बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठूलो भरोसा राखेको उनले बताए । उनले केही महिनाअघिसम्म माओवादी पार्टी नुन खाएको कुकुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि संकल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता-कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।