१५ बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करणको फाइनल प्रवेश गरेको छ ।
डिफेन्डिङ च्याम्पियन आर्मीले ‘समूह ए’ अन्तर्गतको खेलमा आज बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । दुवै खेलमा जित दर्ता गर्ने क्रममा आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो । दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपीएफ समूह चरणबाट बाहिर भयो । बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७।३ ओभरमा ५ विकेट गुमाएर भेटायो।
प्रतियोगिता अन्तर्गत भोलि समूह‘बी’ अन्तर्गतको खेलहरु सुरु हुनेछन् । आजको खेलमा कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।