१५ बैशाख, काठमाडौं । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन्।
सोमबार काठमाडौँमा राप्रपा (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे। उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए।
सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि लाग्न आग्रह गरे। राजसंस्था पुनःस्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने थापाको भनाई थियो।
‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ। केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ’उनले भने, ‘हामी एक ठाउँमा उभियौँ भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन्। अहिले कसैले चाहेर वा नचाहेर देश दुई वटा राजनीतिक कित्तामा बाँडिएको छ।’
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाए।