|  

भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन

१६ बैशाख, काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह आज औपचारिक भ्रमणमा गएका छन् ।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पारे । उनले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिए । उनले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताए ।

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताए । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराए । उनले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताए ।

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार-सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिए ।