|  

प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्तालाई प्रभावित पार्ने उद्देश्यले राजनीति गर्न खोज्योः एमाले

१६ बैशाख, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीतिक प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्ताैलाले प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेको  आरोप लगाए । बर्ताैलाले प्रतिपक्षी दलहरुले आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको उनको दाबी छ ।

सरकार शिक्षकका जायज मागहरु पूरा गर्न गम्भिर रहेको उल्लेख गर्दै बर्ताैलाले वार्ता प्रक्रियामा व्यवधान नपुर्‍याउन समेत विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।  शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचिमा नराखिएको भन्दै प्रतिपक्षी दलहरुले आपत्ति जनाएका थिए ।