१६ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले शिक्षकहरू सडकमा आन्दोलनरत हुँदा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सोमबारदेखि अनुरोध गर्दा पनि सरकारले नसुनेको आरोप लगाए ।
उनले सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिपक्षीहरूले उठेर माग राखे पनि सरकारले बेवास्ता गरेको बताए । प्रमुख सचेतक पाण्डेले शिक्षक, विद्यार्थी, अभिभावक, परीक्षा र विद्यार्थी भर्ना लगायतका महत्वपूर्ण कुराहरूमाथि संसद्मा छलफल गरेर निकास निकालौँ भन्दा सरकारले वास्ता नगरेको जिकिर गरे । उनले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने समेत धारणा ब्यक्त गरे ।
पाण्डेले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र आम जनसमुदायलाई आग्रह गरे ।